विदेशी पर्यटकको उद्धार नाममा अर्बौं ठगी गर्ने फेक रेस्क्यु गिरोहका थप दुईजना पक्राउ

१३ फाल्गुन २०८२, बुधबार १२:५९

काठमाडौं । नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी ‘फेक रेस्क्यु’मार्फत अर्बौँ रुपैयाँ ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका २ का २४ वर्षीय सन्दिप तिवारी र काठमाडौँ ३१ का ५६ वर्षीय राजेन्द्र बहादुर सिंह रहेका छन्। तिवारी रोयल होलिडे एड्भान्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक हुन् भने सिंह नेपाल विमान सेवा संचालक (एओएएन)का पूर्व उपाध्यक्ष हुन्।

यसअघि नै फेक रेस्क्यु प्रकरणमा नौ जना पक्राउ परिसकेको थियो। अनुसन्धानले देखाएको छ कि गिरोहले चार्टर उडानलाई उद्धारको नाममा बदल्ने, एउटै उडानमा धेरै बीमा दाबी गर्ने र निजी अस्पतालसँगको मिलेमतोमा फर्जी बिल तयार पार्ने योजना बनाएको थियो।

गिरोहले हालसम्म कुल करिब २ अर्ब ९० करोड रुपैयाँभन्दा बढी ठगी गरेको अनुमान गरिएको छ। विदेशी सञ्चारमाध्यमहरूले नेपालमा हुने उद्धारमध्ये करिब ३५ प्रतिशत ‘फेक’ हुने दाबी गर्दै आएका छन्।

सन् २०१८ मा यस्तै प्रकारको घोटाला सार्वजनिक भए पनि ठोस कारबाही हुन सकेको थिएन। तर यसपटक अपराध अनुसन्धान विभाग (सीआईबी)ले विशेष कार्यदल बनाएर प्रमाण संकलन गर्दै छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*