हुन्डाईको कोना इलेक्ट्रिकसहित चार मोडलमा आगलागी समस्या, ३७ हजार ६९० युनिट रिकल

काठमाडौं । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रिक सवारीसाधनमा गम्भीर सुरक्षा समस्या देखिएको छ। दक्षिण कोरियाको यातायात मन्त्रालयले हालै हुन्डाई गाडीमा आगलागी समस्याका फिर्ता बोलाउने निर्णय गरेको हो ।
हुन्डाईले कोना इलेक्ट्रिकसहित चार मोडेलका ३७ हजार ६९० युनिट छन्। फिर्ता बोलाउने मुख्य कारण ब्याट्री व्यवस्थापन प्रणालीमा रहेको सफ्टवेयर समस्या रहेको मन्त्रालयले जनाएको छ। यसले प्रारम्भिक आगलागी पत्ता लगाउन ढिलाइ गर्ने सम्भावना बढाउँछ। विशेष गरी अत्यधिक तापक्रमको चेतावनी समयमै नपुग्दा आगो लाग्ने जोखिम बढ्ने ठहर गरिएको छ।
यसअघि २०२३ मा पनि हुन्डाईले ८२ हजार वटा कोना इलेक्ट्रिक फिर्ता बोलाएको थियो। त्यतिबेला पनि समस्या ब्याट्री व्यवस्थापन प्रणालीमा देखिएको थियो। फिर्ता बोलाइएको सवारीसाधनहरू सडकमा चल्दा आगलागीको उच्च जोखिममा थिए। हालको फिर्ता बोलाउने निर्णयले कम्पनीको उत्पादन गुणस्तर र सुरक्षा मापदण्डमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो चिन्ता उजागर गरेको छ।
यता, कियाले पनि सोही समस्या सामना गर्दै नाइरो इलेक्ट्रिकका १,५९० युनिट फिर्ता बोलाउने योजना बनाएको छ। यसको कारण पनि ब्याट्री व्यवस्थापन प्रणालीको सफ्टवेयरमा कमजोरी रहेको छ। यसले गाडीको तापक्रम वृद्धि र आगलागीको प्रारम्भिक संकेत पत्ता लगाउन ढिलाइ गराउने देखिएको छ।
इलेक्ट्रिक सवारीसाधनमा ब्याट्री व्यवस्थापन प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। यो प्रणालीले ब्याट्रीको तापमान, चार्ज स्तर र सुरक्षित सञ्चालनको निगरानी गर्छ। सफ्टवेयरमा समस्या आउँदा प्रणालीले समयमै चेतावनी दिन सक्दैन, जसले आगलागीको जोखिम बढाउँछ।
पछिल्लो केहि वर्षदेखि हुन्डाई इलेक्ट्रिक सवारीसाधनले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरसम्बन्धी आलोचना भोगिरहेको छ ।
सम्बन्धीत समाचारः
थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी












