पुँजी बजारमा हरियालीः जीवन बीमा समूहको शेयर चमक, चुनावअघि कस्तो यात्रा तय होला ?

१३ फाल्गुन २०८२, बुधबार १५:०९

काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । पछिल्लो समय बजारमा सुधारको संकेत देखिन थालेको छ भने लगानीकर्तामा सानो आशावाद पनि देखिएको छ। तर, राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले बजारमा सतर्कता कायम छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिँदैछ । यसले निर्वाचनपछि सरकारको नीतिगत दिशाको अनिश्चितता बढाएको छ र बजारमा उतारचढाव सिर्जना गरिरहेको छ।

बजारमा साना नाफा बुकिङले पनि शेयर मूल्यमा थप दबाव सिर्जना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत गरेका छन् भने नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गर्ने प्रयास गरिरहेका छन्। यी पहलहरूले दीर्घकालीन रूपमा बजारमा स्थायित्व र सुधार ल्याउने सम्भावना देखाएको छ।

तर अहिलेसम्म यी पहलहरूको अपेक्षित प्रभाव बजारमा स्पष्ट देखिएको छैन । लगानीकर्ताहरू आगामी नीति स्पष्टता र चुनाव नतिजाको प्रतिक्षामा छन् । यसले छोटो अवधिमा बजारको उतारचढाव जारी राख्ने देखिन्छ भने लगानीकर्ताहरू आगामी दिनमा बजारको दिशा कस्तो हुन्छ भन्ने अनिश्चिततामा रहेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचकमा हरियाली आएको छ । आज जीवन बीमा समूहको शेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । सो समूहको शेयर मूल्य १.७९ प्रतिशतले बढेको हो ।

साथै, वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार १५७ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ९० कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*