सहकारी ऋण नतिर्ने २८४ ऋणीलाई पाँच दिनभित्र तिर्न प्रशासनको चेतावनी

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सञ्चालित समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीमाथि प्रशासनले कडाइ सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम तत्काल चुक्ता गर्न आग्रह गरेका हुन्।
प्रहरीले बनेपा नगरपालिकाभित्र सञ्चालनमा रहेका दुई सहकारी संस्थाका ऋणीलाई लक्षित गर्दै पाँच दिनभित्र सम्पर्कमा आई ऋण तिर्न निर्देशन दिएको जनाएको छ। प्रहरीका अनुसार बनेपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था बाट ऋण लिई नतिर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको हो।
कार्यालयका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठका अनुसार दुवै सहकारीबाट ऋण लिएका १४२/१४२ जना ऋणीले तोकिएको समयमा सावाँ–ब्याज नबुझाएको पाइएको छ। उनीहरूलाई स्पष्ट कार्ययोजना सहित अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको उनले जानकारी दिए।
अनुसन्धानका क्रममा ती सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको उजुरी दर्ता भएपछि मुद्दा अघि बढाइएको प्रहरीको भनाइ छ। सहकारीका सञ्चालक समितिका पदाधिकारीविरुद्ध ठगी तथा अपचलनसम्बन्धी मुद्दा दायर भई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यले अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।












