निर्वाचनका दिन पर्यटक सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति अनिवार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा उक्त प्रावधान समावेश गरिएको हो ।
आयोगका अनुसार निर्वाचनको दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले हवाइमार्ग हुँदै आउने–जाने पर्यटकको सहज आवागमन सुनिश्चित गर्न सवारी सञ्चालनका लागि अनुमति दिने व्यवस्था गरिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट तथा काठमाडौँ उपत्यकाभित्रका हकमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिएपछि मात्रै पर्यटक बोक्ने सवारी सञ्चालन गर्न पाइने जानकारी दिए ।
कार्यविधिमा राजमार्गमा चल्नुपर्ने सवारी साधनको आवागमनलाई व्यवस्थित गर्न विशेष व्यवस्था गरिएको उल्लेख छ । निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राख्दै अनावश्यक सवारी सञ्चालनमा नियन्त्रण गरिने आयोगले जनाएको छ ।
यसैगरी अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा मानव अधिकार आयोगका सवारी साधन बाहेक अन्य प्रकारका सवारी साधन पनि पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।












