वैदेशिक रोजगारीमा रहेकाहरुको लागि एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिनेछ ।
स्थानिय बासिन्दाका लागि छुट्टाइएको कुरल सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गापा–७ र ८, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गापा–२ र रामेछाप जिल्ला उमाकुण्ड गापा–३ र २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गापा–२ र गोकुलगंगा गापा–१ का स्थानिय बासिन्दाका लागि जारी गरिएको थियो ।
बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु।१०० दरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्रीमा राखिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ९४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।












