कहिलेसम्म दिन सकिन्छ आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन ?

काठमाण्डौं । आईसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन गरेको कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गरेको छ। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सार्वजनिक निष्काशनमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।












