२३ सहसचिवको जिम्मेवारी बाँडफाँड

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजको निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवसँगै अन्य चार सहसचिवको सरुवा गरेको हो।
सरुवा निर्णयअनुसार नेपाल प्रशासन सेवाका १९, नेपाल विविध सेवाका १ र नेपाल शिक्षा सेवाका ३ जना सहसचिवमध्ये पाँच जनालाई स्थानीय तहमा खटाइएको छ। बाँकी सहसचिवहरुलाई महानगर तथा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न प्रदेश प्रमुखको कार्यालयमा सचिव, गृह मन्त्रालय, भाषा आयोग र अन्य संघीय निकायमा जिम्मेवारी दिइएको छ।
एकनारायण शर्मा राष्ट्रपतिको कार्यालयमा, झनककुमार खत्री राष्ट्रिय दलित आयोगको सचिव, हिरालाल चौधरी प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश, कृष्ण प्रसाद खनाल गृह मन्त्रालयमा खटिएका छन्। खडानन्द अधिकारी र डिजन भट्टराई पनि गृह मन्त्रालयमा पुगेका छन्।
स्थानीय तहमा जिम्मेवारी पाउनेमा तीर्थराज राई धरान उपमहानगरपालिकाका, मानबहादुर राई नेपालगञ्ज नगरपालिकाका, रेशमलाल कँडेल वीरगञ्ज महानगरपालिकाका, महेश पराजुली इटहरी उपमहानगरपालिकाका र जनकराज भट्ट धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा खटिएका सहसचिवमध्ये राजन राई लोकसेवा आयोग, प्रेमबहादुर दौत्याल प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम, सुकदेवप्रसाद वाष्कोटा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नारायण प्रसाद दाहाल प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेश, युगराज पाण्डे प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश र गोकुल बास्तोला लोकसेवा आयोग पुगेका छन्।
गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विजय राना खटाइँदा सञ्चार मन्त्रालयमा मनिष भट्टराई, कृष्ण जिसी लोकसेवा आयोग, दिनेश घिमिरे सामान्य प्रशासन मन्त्रालय, कमान सिंह खत्री सामान्यको अतिरिक्त समूह र रमेश मैनाली भाषा आयोगमा खटाइएको छ।












