५ हजारभन्दा बढी अनुगमनपछि ६२ मुद्दा दायर: न्यूनस्तर र दूषित खाद्यविरुद्ध विभागको कडा कारबाही

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ५ हजार ९ सय ६ पटक अनुगमन गरेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार खाद्य तथा दाना व्यवसायतर्फ १ हजार ७ सय ८, खाद्य तथा दाना उद्योगतर्फ १ हजार ६ सय ६१, होटल तथा रेष्टुरातर्फ १ हजार ३ सय १, हाटबजार, मेला तथा महोत्सवतर्फ ५६ र डाइटरी सप्लिमेन्टतर्फ १ सय ३४ पटक अनुगमन गरिएको छ।
यस्तै विद्यालय, क्याम्पस र अस्पताल क्यान्टिनमा १८१ तथा मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत ६० पटक अनुगमन गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन्।
उक्त अवधिमा १८८ नयाँ उद्योगलाई अनुमतिपत्र जारी गरिएको छ भने ३ सय ३३ उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको छ। नयाँ उद्योग स्थापना गर्न ४ सय २१ उद्योगलाई सिफारिस प्रदान गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा १ हजार ४ सय ५२ खाद्य तथा पेय पदार्थका नमूना संकलन गरी विश्लेषण गर्दा दुध तथा दुग्धजन्यतर्फ ४, प्रशोधित पिउने पानीतर्फ ११, तेल तथा घिउजन्यतर्फ २, मसलातर्फ ४, चिया–कफीतर्फ २ र खाद्यान्न तथा दलहनतर्फ ७ नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ। प्रतिकूल पाइएका नमूनामाथि ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।
अर्धवार्षिक अवधिमा ऐनविपरीत न्यूनस्तर तथा दूषित उत्पादन र बिक्री गरेको अभियोगमा ६२ वटा मुद्दा दायर गरिएको छ। दायर मुद्दामध्ये तेल तथा घिउसम्बन्धी १३, दुध तथा दुग्धजन्य ६, फलफूल तथा सागपात ४, खाद्यान्न तथा दलहन ९, मसला २, नुन १, चिया–कफी २, प्रशोधित पिउने पानी ५ र गुलियो पदार्थसम्बन्धी २० रहेका छन्।
दायर मुद्दामध्ये ३४ न्यून गुणस्तरसँग सम्बन्धित, ४ लेबलसम्बन्धी, २० दूषित खाद्य पदार्थसम्बन्धी र ४ ऐनविपरीत कार्यसम्बन्धी रहेको प्रवक्ता शर्माले बताइन्।
विभागले अर्धवार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत उत्पादन भएका २९ लाख ४ हजार १ सय ५२ रुपैयाँबराबरका खाद्य पदार्थ जफत गरी नष्ट गरेको छ। जफत गरिएका वस्तुमा पेय पदार्थ, मिठाई, खाद्यान्न, तेल, मसला, चिप्स, चकलेट, कटन क्याण्डी, मासुजन्य पदार्थ र पिउने पानी रहेका छन्।
यस अवधिमा विभागले छुर्पी, मस्यौरा र रोल्ड ओट्सको गुणस्तर निर्धारण गरी मापदण्ड जारी गरेको छ। गुन्द्रुकको गुणस्तर मापदण्ड निर्धारण गरी जारी गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरिएको छ।
विभागले ७ हजार ८ सय ७३ खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको जनाएको छ। यसमध्ये मसला, कच्चा तेल, बेकरी सर्टनिङ, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल र लिक्विड ग्लुकोज गरी २ सय २९ कन्साइनमेन्टको अनुमति रद्द गरिएको छ।
निर्यात सहजीकरणअन्तर्गत छुर्पी, चाउचाउ, स्न्याक्स, फ्रेन्च फ्राइज, चिउरा, गेडागुडी, खाद्यान्न, अचार, मसलाजन्य पदार्थ, ताजा अदुवा, मह, मुसली, मल्टिग्रेन नगेट, पम्पकिन सिड, प्रशोधित वनस्पति तेल, चिया र कफीका लागि हेल्थ सर्टिफिकेट तथा सर्टिफिकेट अफ एनालाइसिस प्रतिवेदन जारी गरिएको विभागले जनाएको छ।












