विद्युतीय सवारी क्रान्तिलाई संस्थागत आधार: नेपालमा पहिलो औपचारिक ईभी प्राविधिक पाठ्यक्रम सञ्चालनमा

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने औपचारिक प्रशिक्षण कार्यक्रम पहिलोपटक सञ्चालन हुने भएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र ईटीएच ज्युरिकसँगको संयुक्त पहलमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला ‘आईल्याब–२०२५’ कार्यक्रमअन्तर्गत ईभीसम्बन्धी संरचित र दीर्घकालीन तालिम कार्यक्रम अघि बढाइएको हो।
वाग्मती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (पीसीटीभीईटी) र नेपाल उद्योग परिसंघ (सीएनआई) लगायत निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यक्रमलाई संस्थागत ढंगले अगाडि बढाइएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सुरु गरिएको यो पहलले ईभी क्षेत्रमा बढ्दो बजार मागलाई सम्बोधन गर्दै दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य लिएको छ।
ईभी सवारीसाधनको आयात, बिक्री र प्रयोग तीव्र गतिमा बढिरहेका बेला नेपालमा त्यससँग सम्बन्धित दक्ष प्राविधिक जनशक्ति उत्पादनतर्फ भने हालसम्म औपचारिक शैक्षिक कार्यक्रम सञ्चालन भएको थिएन। यही शून्यतालाई सम्बोधन गर्ने उद्देश्यले शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक भौतिक पूर्वाधार विकास गरी समयसापेक्ष पाठ्यक्रमसहितको प्रशिक्षण प्रक्रिया अघि बढाइएको हो। बजारको मागअनुसार दक्ष, व्यवहारिक सीपयुक्त र उद्योगमैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम संरचना तयार गरिएको बताइएको छ।
आईल्याब वाग्मती प्रदेश, काठमाडौंका संयोजक रमेश दुलालका अनुसार स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा ईभी प्रशिक्षणलाई औपचारिक रूपमा सञ्चालन गर्ने यो नेपालमै पहिलो प्रयास हो। उनका अनुसार प्रारम्भिक चरणमा ३९० घण्टाको ईभी तालिम गोकर्णेश्वर नगरपालिकाका २५ युवालाई प्रदान गरिएको थियो। तालिममा सहभागी सबैले सफलतापूर्वक प्रशिक्षण सम्पन्न गरेका छन्। उक्त तालिममा ईभीको आधारभूत सिद्धान्त, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, मर्मत–सम्भार, डायग्नोस्टिक प्रणाली तथा कार्यशाला अभ्यास समेटिएको थियो।
अब औपचारिक कार्यक्रमअन्तर्गत कम्तीमा १८ महिनाको प्रि–डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। पाठ्यक्रमलाई उद्योगसँग प्रत्यक्ष जोड्ने गरी डिजाइन गरिएको जनाइएको छ, जसमा कक्षागत अध्ययनसँगै कार्यस्थलमा आधारित तालिम (वर्क–बेस्ड लर्निङ) लाई प्राथमिकता दिइनेछ। यसले विद्यार्थीलाई अध्ययन अवधिमै व्यवहारिक अनुभव दिलाउने र रोजगारीमा सहज प्रवेश गराउने अपेक्षा गरिएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढिरहेको छ। सरकारी नीतिगत सहुलियत, भन्सार तथा कर संरचनामा गरिएको परिवर्तन, इन्धन आयातमा निर्भरता घटाउने राष्ट्रिय लक्ष्य र वातावरणीय पक्षप्रति बढ्दो सचेतनाले ईभी बजार विस्तार भइरहेको छ। तर सवारीको संख्या बढेअनुसार मर्मत–सम्भार, प्राविधिक परीक्षण र सेवा व्यवस्थापनका लागि आवश्यक दक्ष जनशक्ति अभाव महसुस हुँदै आएको छ। अधिकांश प्राविधिकहरू परम्परागत पेट्रोल–डिजेल सवारीमा प्रशिक्षित भएकाले ईभीका उच्च भोल्टेज प्रणाली, ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) र इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ईसीयू) जस्ता पक्षमा विशेषज्ञता सीमित छ।
यस सन्दर्भमा सुरु गरिएको औपचारिक प्रि–डिप्लोमा कार्यक्रमले प्राविधिक शिक्षा प्रणालीमै ईभीलाई संस्थागत रूपमा समेट्ने आधार तयार गर्ने विश्वास गरिएको छ। यसले युवालाई नयाँ प्रविधिसँग जोड्नुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा छ। उद्योग परिसंघ तथा निजी क्षेत्रको प्रत्यक्ष सहभागिताले पाठ्यक्रमलाई बजारमुखी बनाउने र प्रशिक्षित जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने सम्भावना बढाउने जनाइएको छ।












