आगलागी र चोरीको शिकार बन्दै बजाज ब्रान्डका मोटरसाइकल, गुणस्तर कमजोरले ग्राहक त्रसित!

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेका बजाज ब्रान्डका मोटरसाइकल आगलागीसँगै चोरीको सिकार बन्दै गएको देखिएको छ । गोल्छा समूह अन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री वितरण आइरहेका मोटरसाइकल निरन्तर आगलागी र चोरीको घटनाले बढ्दै गएको हो ।
एनएस मोडलका बजाज पल्सर बाइक निरन्तर आगलागीसँगै चोरीको घटना बढ्दै गएको प्रहरीले जनाएको छ । देशभरि चोरी हुने मोटरसाइकलमध्ये ७० देखि ८० प्रतिशत पल्सर सिरिजका रहेका छन् । पल्सर मोटरसाइकलको लोकप्रियता नेपालमा तीव्र रुपमा बढ्दै गए पनि यसको सुरक्षितता र गुणस्तरको कमजोरीले यसलाई चोरको निशानामा पुर्याएको देखिन्छ । ग्राहकहरूले सुरुमा लुक्स, पर्फमेन्स र विज्ञापनको प्रभावमा यो मोटरसाइकल किन्ने गरेका भए पनि चोरीको जोखिम उच्च देखिन थालेपछि त्रास उत्पन्न भइरहेको छ ।
साथै, आगलागीको घटनाले समेत बजाज ब्रान्डलाई थप आलोचित बनाउँदै आइरहेको छ । मोटरसाइकल गुड्दा गुड्दै वा पार्किङमै आगलागी हुने, इन्धन चुहावट हुने, वायरिङ सर्ट हुने, अत्यधिक तात्ने जस्ता समस्या व्यापक देखिन थालेका छन् जसका कारण यो ब्रान्डप्रति विश्वास घट्दो क्रममा छ ।
गर्मी मौसम सुरु भएसँगै इन्धन ट्याङ्की नजिकबाट धुवाँ निस्कन थालेको, इन्जिनको आसपास भागबाट गन्ध आउने र पेट्रोल चुहिने समस्या नियमित रूपमा उजागर हुन थालेको छ । यसका थुप्रै प्रमाण काठमाडौँ, चितवन, बुटवल, पोखरा, धनगढी लगायतका सहरहरूमा सार्वजनिक भएका छन् ।
निरन्तर भइरहेको चोरी र आगलागीको घटना बारे बिक्रेताले कुनै प्रतिक्रिया जनाएको छैन । सामाजिक सञ्जालमा बजाज बाइक जलिरहेको र चोरी भइरहेको भिडियो र फोटो भाइरल बनेका छन् । तर, बिक्रेता कम्पनी भने मौन बसेको छ ।
पल्सर मोटरसाइकल बढी चोरी हुनुमा यसको लक प्रणाली कमजोर हुनु मुख्य कारण हो । पल्सर मोटरसाइकलको लकमा दुईवटा मात्र बोल्ट हुने हुँदा चोरहरूलाई यसलाई सजिलै खोल्न सक्ने सुविधा मिल्छ । पल्सर मोटरसाइकलको सुरक्षा प्रणालीमा कम्पनीले पर्याप्त ध्यान नदिँदा चोरीको घटना बढिरहेको छ । पल्सर सिरिजका १५०, २०० र २२० सिसीका मोडेल बढी चोरी हुने गरेको प्रहरीको अभिलेखले देखाएको छ । चोरीको घटना बढेसँगै नेपालमा इन्स्योरेन्स कम्पनीहरूले पल्सर मोटरसाइकलको फुल इन्स्योरेन्स दिन अनाकानी गर्न थालेका छन् ।
बजाज ब्रान्ड निरन्तर आगलागी र चोरीको सिकार बन्दा ग्राहकलाई थप त्रसित बनाइरहेको छ ।
सम्बन्धीत समाचारः












