सञ्चार माध्यमलाई जिम्मेवार भई यथार्थ समाचार सम्प्रेषण गर्न पत्रकार महासंघ बागमतीको आग्रह

१७ फाल्गुन २०८२, आईतवार १३:३४

काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले फागुन १६ गते शनिबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र पत्रकारलाई जिम्मेवार भएर यथार्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै नेपाल स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादिन वातावरणमा निर्वाचन सम्पन्न गराउन जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेको हो।

जनतालाई सुसूचित गर्ने प्रक्रियामा सञ्चारकर्मीहरू अहोरात्र कार्यक्षेत्रमा खटिरहेको समयमा सूचनाको प्रवाह गर्दा त्यसको संवेदनशीलतालाई मनन गर्नु उत्तिकै आवश्यक भएको महासंघले जनाएको छ। सञ्चारकर्मीहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी तटस्थ रहेर सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता भएको महासंघले स्पष्ट पारेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित तवरबाट सम्पन्न गर्न सञ्चारमाध्यमको अहम् भूमिका रहने कुरालाई जोड दिंदै महासंघले सबै सञ्चारकर्मीहरूलाई जिम्मेवार भएर लाग्न आग्रह गरेको हो।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालद्वारा जारी ‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) का साथै निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ को अक्षरशः पालना गर्न, सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमबाट फैलिन सक्ने ‘मिस–इन्फर्मेसन’, ‘डिस–इन्फर्मेसन’ र वैमनस्यता फैलाउने खालका सामग्री (हेट स्पीच) प्रति सचेत रहँदै तथ्यपूर्ण समाचार मात्र प्रकाशन/प्रसारण गर्न आग्रह गरेको छ।

त्यसैगरी समाचार संकलनका क्रममा समाजका अल्पसंख्यक, महिला, दलित र सिमान्तकृत समुदायका आवाजलाई समेत उचित स्थान दिई निर्वाचनलाई थप उल्लासपूर्ण बनाउन भूमिका खेल्न, कार्यक्षेत्रमा खटिँदा आफ्नो व्यक्तिगत सुरक्षा र स्वास्थ्यको ख्याल गर्दै सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*