आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । आज फागुन १८ गते देशका पहाडी जिल्लाहरूमा रंगहरूको पर्व होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा चिनिने होलीलाई विशेषगरी वसन्त ऋतुको आगमन र असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिइन्छ।
धार्मिक मान्यताअनुसार होली पर्वको सन्दर्भ भगवद् पुराणमा उल्लेखित भक्त प्रह्लाद र हिरण्यकश्यपको कथासँग जोडिएको छ। सोही कथाअनुसार असत्य र अत्याचारमाथि सत्य र आस्थाको जित भएको स्मरणमा यो पर्व मनाउने परम्परा रहिआएको छ।
आजको दिन युवायुवतीदेखि बालबालिकासम्म रंग खेल्दै, शुभकामना आदानप्रदान गर्दै र सांगीतिक कार्यक्रम आयोजना गर्दै होली पर्व मनाउने गरिन्छ। सामूहिक रूपमा विशेष कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिको आयोजना गरी हर्षाेल्लासका साथ यो पर्व मनाइने चलन रहीआएको छ। होलीको अवसरमा आज सार्वजनिक बिदा रहेको छ भने तराईमा भोलि होली पर्व मनाइँनेछ।
प्रतिनिधिसभा निर्वाचन समेत नजिकिएकाले स्थानीय प्रशासनले पर्व मनाउने क्रममा शान्ति, सुरक्षा र मर्यादालाई ध्यानमा राख्न सबैलाई आग्रह गरेको छ। जबर्जस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी अशान्ति मच्चाउने तथा झैझगडा नगर्न चेतावनीसमेत दिएको छ।
प्रशासनले धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर कम्पाउण्डभित्र अरू कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरूसँग मनाउन तर खुला सडक, सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्न, मेला महोत्सव गर्न, मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्न र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न आग्रह गरेको छ।












