झापा क्षेत्र नं २ मा स्वागत नेपालको पक्षमा उर्लियो जनलहर, युवादेखि बृद्धासम्मले खुलेर भोट माग्दै

काठमाडौं । आसन्न यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा झापा क्षेत्र नं २ मा स्वागत नेपालको पक्षमा व्यापक जनलहर उर्लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपालको पक्षमा युवादेखि बृद्धबृद्धा तथा महिलाहरुले समेत मतदान गर्ने भन्दै खुलेर प्रचार अभियानमा सहभागी भएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा खुकुरी क्रस चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका स्वागत नेपालले २०७९ को निर्वाचनमा २६४४१ मत ल्याएर दोस्रो भएका थिए । पटक बाजी मार्ने तयारीमा रहेका नेपालले धर्म संस्कृति, संस्कार, राष्ट्रियता र न्यायको पक्षमा लडाई लड्ने प्रतिबद्धताप्रति आम नागिरक निकै आशावादी देखिएका छन् । हरेकदिन विहानदेखि साँझसम्म स्वागत नेपालको पक्षमा युवा, बृद्धबृद्धादेखि महिलाहरु सम्म सहभागी भएर भोट मागिरहेका छन् ।

विहानै उठेर सानो गाडीको छतमा चढेर भाषण गर्दै हिड्ने स्वागत स्वागतको पक्षमा जुन चोकमा पुगेपनि आम सर्वसाधारण आएर हात मिलाउँदै गत वर्ष पनि भोट हालेको हो, अलिकति जिताउन सकिएन, यस वर्ष जित्नेगरी मत दिन्छौं भन्दै विश्वास दिलाइरहेका छन् । यस्तै मध्येकी एक हुन झापाकी कमला राई । उनले आफू स्वतःस्फूर्त स्वागत नेपालको पक्षमा भोट माग्न आएको बताउँदै बिर्तामोडदेखि अर्जुनधारा सबैतिरका युवाहरुले स्वागत नेपालले धर्म, संस्कृति जोगाउने र न्यायको पक्षमा उभिएकाले लोकप्रिय भएको बताईन् ।
किसानको हक अधिकार सुनिश्चित गर्न मात्रै नभई निर्यातमुखी कृषि उत्पादन, व्यवस्थित शहरिकरण, धार्मिक क्षेत्रको थप प्रबद्र्धन, औद्योगिकीकरणमा जोड दिएका उनलाई यस पटक बिजयी बनाउन झापा २ का आम सर्वसाधारण कम्मर कसेर लागेका छन् ।

झापा क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिकाका सबै वडा बिर्तामोड नगरपालिकाको १० नं वडा बाहेको सबै ९ वटै वडा, कन्काई नगरपालिकाको वडा नं ८ र ९ नम्वर पर्दछन् । त्यस्तै, बुद्धशान्ति गाउपालिकाको वडा नं १, २ र ३ पर्दछन् ।
सो क्षेत्रमा रास्वपाकी इन्दिरा राना र स्वागत नेपाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा गत निर्वाचनमा नेकपा एमालेका देवराज घिमिरेले स्वागत नेपाललाई जम्मा २२५६ मतान्तरले हराएको थिए । यस पटक पनि घिमिरे नेपालसँगै चुनावी मैदानमा भएपनि एमालेले जेनजी माथि गरेको दमनका कारण झापा २ मा उनलाई धेरै नै गाह्रो भएको विश्वास छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीको समेत दरिलो उपस्थिति भएको झापा २ मा यस पटक न्याय, राजसंस्था, धर्म र विकासको लागि आफूलाई बिजयी गराउनेमा आफू ढुक्क भएको उम्मेदवार स्वागत नेपालले बताए ।













