चुनाव शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई आह्वान गरेकी छन्।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले चुनावको अवसरमा होलीको खुसी साट्ने प्रस्ताव राखिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, होलीको खुसी साटौं। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं।’
आफूले निर्वाचनमा भाग लिनु आफूले देशप्रति पुर्याएको जिम्मेवारी भएको उनले बताइन्। उनले थपिन्, ‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको छु।’
निर्वाचनपछि निर्वाचित सरकार देशको नेतृत्व गर्ने उनले जनाइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरें। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।’












