काठमाडौंमा दुई गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा गाडीमा आगजनी गरिएको अवस्थामा फेला परेको छ। महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरिएको अवस्थामा फेला परेको हो।
घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको पर्चा छरिएको अवस्थामा फेला परेको छ। प्रसाईंलाई निर्वाचन विथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। आइतबार साँझसम्म चुनाव विरोधी गतिविधि गरेको आरोपमा १३३ जनालाई पक्राउ गरेको छ भने ७० जनालाई हिरासतमा राखिएको छ।
आइतबार बिहानै भक्तपुरस्थित आफ्नै निवासबाट राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले ५ दिनको अनुमति दिएको छ।
काठमाडौंमा जलाइएको अवस्थामा फेला परेका गाडी चुनाव विथोल्ने समूहकै योजनामा भएको हुनसक्ने आशंका गरिएको छ। दुर्गा प्रसाईं पक्राउ पर्दा उनका समर्थकहरूले सरकारी वेबसाइट ह्याक गर्ने, आन्दोलनको आह्वान गर्ने, मोटरसाइकल तथा मसाल जुलुस आदि निकाल्ने गर्दै आएका छन्।












