मध्यपूर्व युद्धले राजधानीमा पेट्रोल हाहाकार: पम्पमा लाइन, निगम भन्छ- ‘इन्धन आपूर्ति नियमित’

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने आशंकासँगै नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने हल्ला फैलिएको छ । यही हल्लाले राजधानी काठमाडौँसहित विभिन्न स्थानका पेट्रोल पम्पमा अस्वाभाविक भीड देखिएको छ । उपभोक्ताहरू सम्भावित मूल्यवृद्धि र अभावको त्रासमा आवश्यकताभन्दा बढी इन्धन भर्न पम्पहरूमा लाइन लागिरहेका छन् ।
काठमाडौँका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोल सकिएको भन्दै सूचना टाँसिएको छ । केही स्थानमा ‘स्टक समाप्त’ लेखिएको बोर्ड राखेर पम्प बन्द गरिएको छ । नेपाली सेनाद्वारा सञ्चालित पेट्रोल पम्पहरूमा पनि पेट्रोल उपलब्ध छैन भन्दै सेवा रोकिएको देखिएको छ । भने नेपाल प्रहरीद्वारा सञ्चालित पम्पमा भने सेवा सुचारु रहेको पाइएको छ । यसले बजारमा झनै अन्योल र त्रास बढाएको उपभोक्ताहरू बताउँछन् ।

सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न पम्पमा मोटरसाइकल, कार र सार्वजनिक सवारीसाधनहरूको लामो लाइन देखिएको थियो । कतिपयले जेरिक्यान र ड्रमसमेत बोकेर इन्धन भर्न खोजेको दृश्य देखिएको छ । सम्भावित अभाव र मूल्यवृद्धिको हल्लाले उपभोक्ताहरू भण्डारणतर्फ आकर्षित भएका छन् ।
तर इन्धन आपूर्तिको जिम्मेवारी लिएको नेपाल आयल निगम ले भने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी गरेको सूचनामार्फत पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको अवधिभर पर्याप्त परिमाणमा आपूर्ति जारी रहने स्पष्ट पारेका छन् ।

उनका अनुसार भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आपूर्ति नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै अवरोध छैन । ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ’ भट्टले सूचनामा उल्लेख गरेका छन् ।
निगमले अनावश्यक रूपमा जेरिक्यान र ड्रममा पेट्रोलियम पदार्थ भण्डारण नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यधिक मात्रामा भण्डारण गर्दा आगजनीजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्य नगर्न चेतावनी दिइएको छ । निगमका अनुसार सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जेरिक्यान तथा ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको छ ।
निगमले आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न उपभोक्तालाई अनुरोध गर्दै बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराएको छ । इन्धन आपूर्ति नियमित हुँदाहुँदै हल्लाका आधारमा भण्डारण गर्ने प्रवृत्तिले वास्तविक उपभोक्ता मारमा पर्न सक्ने निगमको भनाइ छ ।












