नेको इन्स्योरेन्सका बीमितले एक वर्षसम्म धाउँदा पनि पाएनन् न्याय, दाबी लम्ब्याउन सर्भेयरलाई सिईओको धम्की

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्ष अघि भएको क्षतिको बीमा दाबी अझै भुक्तानी गर्न आनाकानी गरेपछि बीमित हैरान बनेका छन् । एक वर्षसम्म बीमा कम्पनी धाउँदा पनि बीमितले न्याय पाउन नसकेका हुन् ।
नेको इन्स्योरेन्सका एक सर्भेयरले नाम नखोल्ने शर्तमा कम्पनीका सीईओ र उच्च व्यवस्थापकले नै रिर्पोट पूरा भए पनि दाबीको समय लम्ब्याउन धम्की दिने गरेको बताएका छन् । कम्पनीका सीईओ अशोक खड्काले नै पटक पटक सर्भेयरहरूमाथि यस्तो खालको धम्की र दबाब दिने गरेको ती सर्भेयले नाम नखोल्ने शर्तमा बीमापोष्टलाई बताएका छन् ।
“ऋणले चुर्लुम्मै डुबियो, न काम लाग्ने पुराना सामग्री चलाउन पाइयो न त ऋण तिर्न नै पाइयो, कम्पनीमा धाउने त दैनिकी नै बनेको छ अहिले,” ईलामको जसबिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले भने, “शुभचिन्तकबाट लिएको रकम समयमा फिर्ता गर्न नसक्दा लज्जाबोध भइसक्यो ।” तर नेको इन्स्योरेन्स कम्पनीले एक वर्षदेखि निरन्तर झुलाएको उनी बताँउछन् । बीमा कम्पनीले यति धेरै दुःख दिएको छ न त भुक्तानी दिन्छ बरू उल्टै बीमितलाई झुलाउने र त्रास दिने काम गरेको ती उद्योगका एक लगानीकर्ता बताँउछन् ।
एक वर्ष अघि फागुन १३ गते आगो लागेर करीब सात करोड रुपैयाँ बराबरको क्षति बेहोरेको इलाम नगरपालिका–४ स्थित जसबिरे चिया कारखाना अहिले पुनर्निर्माण भइरहेको छ।
आगलागी भएको एक वर्षसम्म सम्बन्धित नेको इन्स्योरेन्स कम्पनीले भएको क्षतिको रकम नदिंदा भने समस्या भएको छ । “आगो लाग्यो, क्षति भयो, त्यही क्षति हुन्छ र क्षतिपूर्ति पाइन्छ भनेर गरेको बीमाबाट अहिले सम्म क्षतिपूर्ति नै पाइँदैन भने किन बीमा गर्ने ?” कारखाना सञ्चालक सुब्बाले गुनासो गरे, “बीमा गरेको थिएन भने आगोबाट बचेका सामग्री मर्मत गरेर पुनः प्रयोग गर्न पाइन्थ्यो, लागत पनि कम हुन्थ्यो ।” नेको इन्योरेन्स कम्पनीले दिनुपर्ने रकम समयमा नदिंदा कम्पनीसँग सुब्बा अहिले निकै रुष्ट छन् ।
नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा पहिचान बनाएका सुब्बाले कारखानाको पुनर्निर्माण गर्ने क्रममा एक करोड ७० लाख रुपैयाँ नगद सहयोगीले दिएको ऋण तिर्न बाँकी रहेको बताएका छन् । बीमाले जोखिम परेको अवस्थामा सुरक्षा दिओस् भनेर बीमा गरेका थियौं तर जोखिम सुरक्षाको साथी बीमाको सट्टा छिमेकी र गाँउले बन्न पुगे । बीमा गर्दा पाउने रकम एक बर्षसम्म पनि पाएनौं पाएको खण्डमा पनि निकै थोरै रकम पाउने आश्वासन दिइएको छ अब बीमा गर्नु अघि सोच्नु पर्ने अवस्था आएको संचालक बताउँछन् ।
नेको इन्स्योरेन्समा चार करोड १० लाख रुपैयाँको बीमा गरेकोमा दाबी बापत एक करोडमाथि मात्रै रकम दिने र त्यसमा पनि कटौती गरेर कम मात्रामा रकम पाउने भनिरहेको उद्योग सञ्चालक तथा
लगानीकर्ता ग्रीष्म सुब्बाले बताएका छन् । यता ५० लाख रुपैयाँ पर्ने चिया उत्पादन गर्ने मेसिनको १२ लाख रुपैयाँ मात्रै भ्यालुएसन निकालेको उधोग संचालक बताँउछन् ।
सबै कागजात बुझाउँदा पनि कम्पनीले क्षति बराबरको भुक्तानी नदिने हो भने बीमा गर्ने अरू उद्योगी पनि समस्यामा पर्ने उनको भनाइ छ । शाखामा कार्यरत कर्मचारीले मुख्य कार्यालयबाट ढिला गर्न र अल्झाउन केन्द्रीय कार्यालय मार्फत सीईओ अशोक खड्काले नै आफूहरूलाई दबाब दिइरहेको बताएका छन् । राजनीतिक चन्दा र पार्टीको सहयोगको लागि रकम छुट्याउँदै आएका कम्पनीका सीईओ खड्काले बीमितहरूको पैसा एक दुई महीना देखि एक बर्षसम्म पनि होल्ड गराउने गरेको अन्य शाखा कार्यालयका कर्मचारीहरू पनि नाम नखोल्ने शर्तमा बीमापोष्टलाई बताएका छन् ।
रकम भुक्तान गर्न ढिलो नै भएको कर्मचारी स्वीकार गर्छन् भने बीमितले बीमाको करार सम्झौतामा भएको भएको डकुमेन्ट सबै तयार गर्दा पनि कम्पनीले दिएको दुःखको कारण आम बीमित हैरानी बेहोर्न बाध्य भएका छन् ।
एक शाखा कार्यालय प्रमुखले पनि सर्भेयरहरूसँग कम्पनीका सीईओ सहित उच्च व्यवस्थापकले नै छलफल गरी ढिला रिर्पोट बुझाउने सहमति गर्ने गरेको र कर्मचारीहरूलाई बीमितलाई कन्भेन्स गराउन गाह्रो परेको बताँउछन् । सर्भेयरले एक वर्षसम्म पनि कम्पनीमा क्षति मूल्याङ्कन रिपोर्ट बुझाएका छैनन् । सर्भेयरले डेबिट भौचर दिनु पर्ने हुन्छ तर कम्पनी यतिबेला उक्त कामबाट भागेको पाइएको छ।












