फेब्रुअरीमै १ लाख ५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

१९ फाल्गुन २०८२, मंगलवार १७:१५

काठमाडौँ । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उत्साहजनक सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले बढी हो । सन् २०२५ को फेब्रुअरीमा ९६ हजार ८ सय ८० जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कोभिड महामारीअघि सन् २०१९ को फेब्रुअरी महिनासँग तुलना गर्दा पनि यस वर्षको आगमन दर उच्च देखिएको छ । सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४ सय २३ पर्यटक नेपाल आएका थिए । यस आधारमा हेर्दा हालको आगमन दर उक्त अवधिको भन्दा २.९ प्रतिशतले बढी हो । महामारीपछि पर्यटन क्षेत्र पुनरुत्थानको चरणमा रहेको सन्दर्भमा यो वृद्धि अर्थपूर्ण मानिएको छ ।

देशगत रूपमा विश्लेषण गर्दा भारतबाट आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । फेब्रुअरी महिनामा भारतबाट मात्रै २२ हजार ७ सय ४५ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट १० हजार ८ सय १६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अमेरिकाबाट ९ हजार ७१० जना पर्यटक भित्रिँदा अमेरिका तेस्रो स्थानमा परेको छ ।

त्यसैगरी श्रीलंकाबाट ७ हजार ५१५, म्यानमारबाट ६ हजार ३५ र बेलायतबाट ५ हजार ६१८ जना पर्यटक नेपाल आएका छन् । थाइल्याण्डबाट ३ हजार ६३८, बंगलादेशबाट ३ हजार २१२, जर्मनीबाट २ हजार ८५० र दक्षिण कोरियाबाट २ हजार ५५३ जना पर्यटकले पनि फेब्रुअरी महिनामा नेपाल भ्रमण गरेका छन् । विशेष गरी म्यानमार र थाइल्याण्डजस्ता बौद्ध धर्मावलम्बी बहुल देशहरूबाट आगमनमा उल्लेख्य सुधार देखिनु लुम्बिनी तथा हिमाली गन्तव्यप्रति आकर्षण बढ्दो रहेको संकेतका रूपमा व्याख्या गरिएको छ ।

क्षेत्रगत हिसाबले कुल पर्यटक आगमनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूको हिस्सा सबैभन्दा बढी ३३.५ प्रतिशत रहेको छ । अन्य एसियाली मुलुकहरूबाट २८.३ प्रतिशत पर्यटक आएका छन् । युरोपेली देशहरूको हिस्सा १६.६ प्रतिशत छ, जसमा बेलायत र जर्मनी अग्रणी देखिएका छन् । अमेरिकी महादेशबाट ११.२ प्रतिशत र ओसेनियाबाट १.६ प्रतिशत पर्यटक आएका छन् । मध्यपूर्व र अफ्रिकी देशहरूको योगदान भने क्रमशः ०.९ प्रतिशत र ०.३ प्रतिशतमा सीमित रहेको छ ।

गत वर्षको तुलनामा केही मुलुकहरूबाट हुने आगमनमा उल्लेख्य वृद्धि भएको छ । म्यानमारबाट आउने पर्यटक सङ्ख्या ९१.६ प्रतिशतले बढेको छ । पोल्याण्डबाट ९०.३ प्रतिशत र श्रीलंकाबाट ७२ प्रतिशत वृद्धि देखिएको छ । यद्यपि अस्ट्रेलिया र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*