गृह मन्त्रालयले भन्यो, ‘७७ जिल्लामा निर्वाचन तयारी पूरा, सुरक्षा उच्च सतर्कतामा’

काठमाडौँ । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयमा भएको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थाबारे अद्यावधिक जानकारी लिइएको थियो। सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा मन्त्रालयका उच्च अधिकारी र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। करिब तीन घण्टा चलेको छलफलमा निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वयको विस्तृत समीक्षा गरिएको थियो।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। बैठकमा मतदान केन्द्रसम्म कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्री सुरक्षित रूपमा पुगेको जानकारी पनि दिइएको थियो।
बैठकमा जिल्लागत अवस्था, शान्ति–सुरक्षाको संवेदनशीलता, मतदानका दिन अपनाउनुपर्ने सतर्कता र केन्द्र–जिल्लाबीचको समन्वयबारे गहन छलफल भएको थियो। सम्भावित चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने समझदारी समेत बनेको मन्त्रालयले जनाएको छ।












