निर्वाचनमा सुरक्षा मजबुत: मतदानकै समयमा हेलिकप्टर गस्ती, आपतकालीन तयारी पूर्ण

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर भोलि हुने मतदानको तयारीबारे आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा आयोजित भएको थियो। गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी बैठकमा सहभागी थिए।
बैठकमा मतदानको समयमा सुरक्षा सुदृढ गर्न हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरिएको छ। गृहमन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिँदै भनिन्, “सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टर स्ट्याण्डबाई राखेर गस्ती गरिने निर्णय भएको छ।”
सुरक्षा प्रमुखहरूले निर्वाचनका लागि तयार गरिएको सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी सुरक्षा स्थितिको मूल्याङ्कन गरिसकेका थिए।
केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा कुनै सुरक्षा चुनौती नहुने निष्कर्ष निकालेको छ। साथै, निर्वाचनमा कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।












