पैसा बाँड्दै गरेको अवस्थामा बैतडीमा कांग्रेस कार्यकर्ता पक्राउ
२० फाल्गुन २०८२, बुधबार १७:५३

काठमाडौँ । बैतडीमा नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ का भानदेव भट्टलाई ७९ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा भट्टलाई स्थानीय एक होटलबाट नगद वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट निर्वाचनसम्बन्धी पर्चा तथा अन्य प्रचार सामग्रीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पैसा बाँड्दै गरेको सूचना प्राप्त भएपछि तत्काल टोली खटाइएको थियो। सो क्रममा नगद र निर्वाचन सामग्रीसहित उनलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा उनले आफू नेपाली कांग्रेसका कार्यकर्ता भएको बताएका छन्।












