काठमाडौंका १० वटै क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण मतदान

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा जारी रहेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार जिल्लाभर रहेका ८१७ वटै मतदान केन्द्रमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान प्रक्रियामा सहभागी भइरहेको उनले जानकारी दिए।
निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए। सुरक्षा निकायको प्रभावकारी परिचालन र समन्वयका कारण मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको उनको भनाइ छ।
प्रजिअ पौडेल नेतृत्वको टोलीले विभिन्न मतदानस्थलको स्थलगत अनुगमनसमेत गरिरहेको छ। अनुगमनका क्रममा मतदान प्रक्रिया सुव्यवस्थित रहेको तथा कतैबाट अप्रिय घटना नआएको प्रशासनले जनाएको छ।












