एमाले हराउन भन्दै कांग्रेसीले हाले घण्टीमा भोट, बुथ प्रतिनिधिकै बयान

झापा । झापामा एमालेका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टीमा भोट हालेका छन् । झापा क्षेत्र नं ५ र २ मा एमालेका उम्मेदवारलाई हराउने भन्दै कांग्रेसी कार्यकर्ताहरुले घण्टीमा भोट हालेको बताएका छन् ।
बीमापोष्टको सम्पर्कमा आएका एक कांग्रेसी नेताले एमालेले नजितोस् भनेर कुटिल राजनीति गरिएको बताए । नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नं २ मा बुथ प्रतिनिधि बनेका एक कांग्रेसका कार्यकर्ताले एमालेले जित्ने अवस्था नआओस भनेर रास्वपामा भोट हालेको मतदानपछि स्वीकार गरेका छन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘एमालेमा लेवी तिरेर बस्ने मानिसहरु छन्, के होला कसो होला, हामीले जित्ने अवस्था रहेन एमालेका उम्मेदवारले नजितोस भनेर घण्टीमा भोट हालेको हो ।’
त्यसो त झापा क्षेत्र नं ५ को अवस्था पनि उस्तैछ, दमक चोकका एक ७६ बर्षिय स्थानीयले भने, ‘अहिलेसम्म रुख बाहेक अन्यत्र भोट हालेका थिएनौं, ०६४ सालमा पनि माओवादीलाई भोट दिईन तर यस पटक घण्टीमा मतदान गरेँ ।’
झापाका अधिकांश क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्तामात्रै होइन, माथिल्लो तहका नेताहरुले समेत घण्टीमा मतदान गरेको खुलेआम भन्न थालेका छन् ।
आज सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ५ मा रास्वपाका बालेन शाह पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोब्बर बढि मतले हराउने मत सर्वेक्षण दुई वटा अनलाईन सञ्चार माध्यमहरुले सार्वजनिक गरिसकेका छन् । अझ नेपाली कांग्रेसका कार्यकर्ताहरुले समेत घण्टीमा भोट हालेको तथ्य उजागर भएसँगै झापाका अधिकांश क्षेत्रमा घण्टीले पुराना दलहरुलाई क्लीन स्वीप गर्ने विश्वास गरिएको छ ।
तस्विरः कृत्तिम (आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा) ।












