मतदाताको निर्णय स्वीकार्दै विश्वप्रकाश शर्मा : मतपत्रबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामलाई स्वीकार गरेका छन् । प्रारम्भिक परिणामअनुसार पार्टीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको अवस्थालाई संयमित रूपमा स्वीकार गर्दै उनले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका हुन् ।
उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै २०६४ सालमा सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जित हासिल गर्दा जसरी लोकतान्त्रिक शक्तिहरूले संयमता देखाएका थिए, अहिले त्यही संयम दोहोर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘गोलीबाट उदाएको माओवादीलाई स्वागत गर्दा देखाइएको संयमलाई दोहोर्याउँदै मतपत्रबाट अघि बढ्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत । २०७९ मै देखिएको संकेतका आधारमा यो परिणाम अप्रत्याशित होइन । चर्को आशा फेरि अर्को निराशामा बदलिनु हुँदैन, देशका मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’
उपसभापति शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको यो परिणाम अप्रत्याशित नभएको पनि उल्लेख गरेका छन् । उनका अनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमै उक्त पार्टीले उल्लेखनीय उपस्थिति जनाउँदै नयाँ राजनीतिक शक्तिको संकेत दिइसकेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार महिनामा गठन भएको थियो । गठन भएको केही महिनापछि मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएर उक्त पार्टी राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै चौथो ठुलो दलका रूपमा उदाएको थियो ।
२०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो । अहिलेको प्रारम्भिक मत परिणामले नयाँ राजनीतिक शक्तिको उपस्थितिलाई थप बलियो बनाएको संकेत गरेको विश्लेषण गरिँदैछ ।












