जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ। आयोगको कार्यावधि पनि आइतबार नै सकिने भएकाले आजै प्रतिवेदन बुझाउन लागिएको हो।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो। आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका तथा समग्र घटनाक्रमको अध्ययन गर्न आयोगलाई जिम्मेवारी दिइएको थियो।
यस विषयमा आगामी मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्नेबारे निर्णय गर्न सक्ने बताइएको छ।












