परम्परागत दललाई उछिन्दै रास्वपा सबैभन्दा ठूलो शक्ति: ११० सिटमा विजय, कांग्रेस र एमाले कति ?

काठमाडौं । २०८२ सालको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा सबैभन्दा ठूलो दलको रूपमा उदाउँदै राष्ट्रिय राजनीतिमा नयाँ शक्ति केन्द्रको रूपमा आफूलाई स्थापित गरेको हो ।
सार्वजनिक भएको तथ्यांक अनुसार रास्वपाले प्रत्यक्षतर्फ ११० सिटमा जित हासिल गरी सकेको छ । १५ सिटमा अग्रता देखाएको छ । कुल १२५ सिटमा उपस्थित रहेको रास्वपाले अन्य स्थापित दलहरूलाई निकै पछि पार्दै व्यापक जनसमर्थन प्राप्त गरेको देखिएको छ। छोटो समयमै बनेको यो पार्टीले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिएको छ। समानुपातिकतर्फ १४ लाख ६१ हजार ३८१ मत प्राप्त गरेको छ।
त्यसैगरी लामो समयदेखि नेपालको मुख्य राजनीतिक शक्ति मानिँदै आएको नेपाली कांग्रेस भने यस पटक कमजोर देखिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ २ सिटमा मात्र अग्रता कायम गरेको छ भने १५ सिटमा जित निकाल्दै कुल १७ सिट हासिल गरेको छ। समानुपातिकतर्फ ४ लाख ९४ हजार २५१ मत प्राप्त गरेको कांग्रेसको प्रदर्शन अपेक्षाभन्दा कमजोर भएको भन्दै पार्टीभित्र पनि समीक्षा सुरु भएको छ।
त्यस्तै अर्को प्रमुख दल नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ३ सिटमा अग्रता कायम गरेको छ भने ७ सिटमा जित निकाल्दै कुल १० सिटमा सीमित भएको छ। एमालेले समानुपातिकतर्फ ४ लाख ३ हजार ८९९ मत प्राप्त गरेको छ। अघिल्ला निर्वाचनहरूको तुलनामा एमालेको सिट संख्या उल्लेखनीय रूपमा घटेको देखिन्छ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २ सिटमा अग्रता कायम गर्दै ६ सिट जितेको छ र कुल ८ सिट हासिल गरेको छ। समानुपातिकतर्फ यस दलले १ लाख ९३ हजार ५५० मत प्राप्त गरेको छ।
राजसंस्थाप्रति झुकाव राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस निर्वाचनमा सीमित सफलता मात्र हात पारेको छ। राप्रपाले १ सिटमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ १ लाख ६ हजार ३९६ मत प्राप्त गरेको छ।
त्यस्तै श्रम संस्कृति पार्टी ले पनि अप्रत्याशित रूपमा आफ्नो उपस्थिति देखाएको छ। यस दलले २ सिटमा अग्रता कायम गर्दै १ सिटमा जित हासिल गरी कुल ३ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ यस पार्टीले ५९ हजार २४१ मत प्राप्त गरेको छ।
यसैबीच एक स्वतन्त्र उम्मेदवारले पनि १ सिटमा जित हासिल गरेका छन्।












