आजदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिंदै, को छन् नयाँ दाबेदार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाएका कारण पद खाली भएको हो।
दुवै डेपुटी गभर्नर २०७७ फागुन २५ गते नियुक्त भएका थिए र राष्ट्र बैंकमा डेपुटी गभर्नरको कार्यावधि पाँच वर्षको हुन्छ। राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नर हुन नियुक्त हुनुअघि व्यक्ति कार्यकारी निर्देशकको रूपमा सेवा दिइरहनु पर्ने हुन्छ। यस अर्थमा हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक सबै डेपुटी गभर्नरका प्रत्यासी बन्न योग्य छन्।
हाल त्यस प्रत्यासीमध्ये को–को पदमा चयन हुने भन्ने विषयमा कर्मचारी र अर्थनितिकर्मीहरूमा व्यापक चर्चा भइरहेको छ।
डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेर पठाउँछन् । त्यसमध्ये २ जनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना तथा चेतप्रसाद उप्रेती छन् ।
त्यस्तै, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशकको रुपमा रहेका छन् ।












