शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नै नेपाली जनता, संविधान र राष्ट्रको जित हो: प्रधानमन्त्री

२४ फाल्गुन २०८२, आईतवार १४:५४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको विजय भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले विशेष परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धि भएको र यसले लोकतान्त्रिक, संवैधानिक निकास सुनिश्चित गरेको उल्लेख गरिन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन योगदान दिने सबैप्रति आभार व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले मतपत्र केवल कागजको टुक्रा नभइ नागरिकको आत्मसम्मानको प्रतीक भएको र निर्वाचित जनप्रतिनिधिहरूले जनादेश स्थायी हुँदैन भन्ने बुझ्नुपर्ने धारणा राखिन्। कानुनी रूपमा जनादेशको अवधि पाँच वर्ष भए पनि यसको नैतिक वैधता जनताको निरन्तर विश्वासबाट सुनिश्चित हुने उनको भनाइ छ।

उनले संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको पनि बताइन्। तथापि, महिलाहरू अझै विभेद, असमान अवसर, लैङ्गिक हिंसा र संस्कृतिजन्य असमानताबाट मुक्त हुन नसकेकाले अधिकारका लागि दृढताका साथ अघि बढ्नुपर्ने उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्दा मात्रै लोकतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*