एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन नपरेपछि म्याद थप

२५ फाल्गुन २०८२, सोमबार ०७:१०

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरिरहेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये प्रथम चरणमा ४ लाख ७० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिरहेको छ।

आयोजना प्रभावितलाई खुलाइएको आईपीओमध्ये २ लाख ३५ हजार कित्ता आईपीओमा उच्च प्रभावित क्षेत्र – ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् भने १ लाख ४१ हजार कित्ता आईपीओमा मध्यम प्रभावित क्षेत्र – सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् र ९४ हजार कित्ता आईपीओमा न्यून प्रभावित क्षेत्र – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावितका लागि खुला गरिएको आईपीओ छिटोमा फागुन २५ र ढिलोमा चैत १० गते बन्द हुनेछ भनिएकोमा पर्याप्त आवेदन नपरेकाले अब म्याद थप गरी चैत १० गतेसम्म कायम गरिएको हो। तर सोअघि नै पर्याप्त आवेदन परेमा जुनसुकै बखत निष्काशन बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

आयोजना प्रभावितले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा), सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*