ब्रिटिश गोर्खा र सिंगापुर प्रहरीमा भर्ती खुला

काठमाडौं । ब्रिटिश आर्मी अन्तर्गतको गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा रेक्रुट इन्टेक २०२७ का लागि नेपाली युवाहरूबाट भर्ती खुला भएको छ। भर्ती प्रक्रिया योग्यता आधारित हुने र उत्कृष्ट उम्मेदवारलाई मात्र छनोट गरिने जनाइएको छ।
इच्छुक उम्मेदवारले अनलाइन मार्फत नाम, ठेगाना, एनपीपी नम्बर र जिल्ला दर्ता गर्नु पर्नेछ। अनलाइन दर्ता प्रक्रिया सन् २०२६ मार्च ७ देखि अप्रिल ६ (फागुन २३ देखि चैत २३) सम्म सञ्चालन हुनेछ। पहिलो चरणको छनोट ब्रिटिश गोर्खा पोखरा र ब्रिटिश क्याम्प धरानमा अप्रिल २८ देखि जुलाई ३ (वैशाख १५ देखि असार १९ गते) सम्म र सुर्खेत (एडब्लूसी भेरी) मा अप्रिल २८ देखि जुन ५ (वैशाख १५ देखि जेठ २२ गते) सम्म सञ्चालन गरिनेछ।
भर्तीका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १० (एसईई) उत्तीर्ण वा सो सरह हुनु पर्नेछ। उमेर सन् २०२६ डिसेम्बर ३१ सम्म कम्तीमा १८ वर्ष पूरा भएको र २१ वर्ष ननाघेको हुनु पर्नेछ। उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनु पर्नेछ भने शरीर तौल सूचकांक (बीएमआई) पनि तोकिएको मापदण्डभित्र हुनु पर्नेछ।
त्यसैगरी आँखामा चश्मा वा लेजर सर्जरी नगरिएको, आँखा छड्के वा डेडो नभएको, दाँतमा दुईभन्दा बढी समस्या नभएको तथा अगाडिको दाँत नक्कली नभएको हुनु पर्ने उल्लेख छ। दर्ताका लागि मेशिन रिडेबल पासपोर्ट (एमआरपी) वा इ–पासपोर्ट अनिवार्य गरिएको छ। प्रशिक्षण केन्द्रहरू ब्रिटिश गोर्खा वा सिंगापुर प्रहरीसँग सम्बन्धित नभएको र भर्ती गराइदिने भन्दै कसैले पैसा मागेमा नदिन पनि आग्रह गरिएको छ।












