बजेटमा छेडखानी गर्ने चार पूर्वअर्थमन्त्री निर्वाचनमा पराजित

२५ फाल्गुन २०८२, सोमबार १२:१४

काठमाडौं । हरेक वर्ष बजेट बनाउँदा जुनसुकै पार्टीका अर्थमन्त्री भए पनि देशका ठूला व्यापारी, माफिया र दलालहरूलाई खासै फरक पर्दैनथ्यो तर यस पटकको निर्वाचनमा भने देशका ठूला व्यापारीको इसारामा नाच्ने चार पूर्वअर्थमन्त्रीहरूले लज्जास्पद पराजय भोगेका छन्।

यो निर्वाचनमा भाग लिएका जम्मा ५ जना अर्थमन्त्रीमध्ये ४ जनाले पराजय बेहोरेका छन् भने १ जना मात्रै निर्वाचित भएका छन्। पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा लज्जास्पद पराजय मात्रै भोगेनन् एमालेको पत्तासाफ भएको आफ्नै आँखाले अनुभूति पनि गरे। त्यस्तै अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पनि नुवाकोटमा पराजित भएका भने जनार्दन शर्मा रुकुम पश्चिममा र ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमा पराजय भोग्न बाध्य भएका छन्। भलै अर्का पूर्वअर्थमन्त्री वर्षमान पुन भने निर्वाचन जितेर संसद प्रवेश गर्न सफल भए।

कुन कुन अर्थमन्त्री कहाँ कहाँबाट हारे?
रुपन्देही–२ मा विष्णु पौडेल भारी मतान्तरले पराजित
रुपन्देही–२ मा नेकपा (एमाले)का पूर्वअर्थमन्त्री विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलसँग पराजित भएका छन्। खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए। यस परिणामले पौडेललाई दोस्रो स्थानमा सीमित बनायो। बजेट बनाउँदा माफिया र ठूला व्यापारीहरूसँग सेटिङ गरी उनीहरूलाई फाइदा पुग्ने गरी बजेट बनाएका पौडेललाई जनताले नराम्रोसँग हराइदिएका हुन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पौडेल यही क्षेत्रबाट २७ हजार १६५ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८५ मत प्राप्त गरेका थिए। तर यसपटक भने मतान्तर निकै फराकिलो देखिएको छ।

आफ्नै पार्टी खोलेका जनार्दन शर्मा पनि पराजित
साबिक नेकपा (माओवादी केन्द्र) छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि रुकुम पश्चिम–१ मा पराजित भएका छन्। उक्त क्षेत्रमा नेकपाका उम्मेदवार गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन्।

त्यस्तै नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन् भने जनार्दन शर्माले १४ हजार ३४६ मत मात्रै ल्याएका छन्। २०७९ को निर्वाचनमा भने शर्मा माओवादी केन्द्रबाट यही क्षेत्रबाट ३९ हजार ५४९ मतसहित विजयी भएका थिए। अर्थ मन्त्रालयमा बजेट तयार गर्ने अन्तिम रात अनधिकृत व्यापारी र बाहिरी व्यक्तिलाई मन्त्रालय भित्रै बोलाएर कर र अन्तःशुल्कका रातारात परिवर्तन गरी ठूला व्यवसायीलाई फाइदा पुग्ने गरी बजेटमा चलखेल गरेका जनार्दन शर्मालाई जनताले अस्वीकृत गरिदिएका छन्।

नुवाकोट–१ मा डा. प्रकाशशरण महत पनि पराजित
नुवाकोट–१ मा नेपाली कांग्रेसका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पनि निर्वाचनमा पराजित भएका छन्। महतले १८ हजार ६११ मत प्राप्त गरेर पराजय भोगेका हुन्।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका छन्। डा. महत यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए। यसपटक प्रत्यक्ष निर्वाचनमा होमिए पनि मतदाताबाट अपेक्षित समर्थन नपाएपछि पराजित हुन पुगेका छन्। बजेट लेख्ने क्रममा ठूला व्यवसायीहरूसँ मिलेर करमा चलखेल गरेको र टुक्रे योजना ल्याएर कनिका छरेजस्तै बजेट छरेका महतलाई पनि जनताले अस्वीकार गरेका हुन्।

सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की पनि पराजित
सुनसरी–४ मा नेपाली कांग्रेसका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि भारी मतान्तरले पराजित भएका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साह ४२ हजार ७७१ मत ल्याएर विजयी भएका छन्।

कार्कीले भने १६ हजार ८५७ मत मात्रै प्राप्त गरे। २०७९ सालको निर्वाचनमा भने कार्की निकै झिनो मतान्तरले विजयी भएका थिए। त्यसबेला उनले ३० हजार ४८३ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए।

चारजना पूर्वअर्थमन्त्री पराजित हुन पुग्दा रोल्पाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन भने निर्वाचित भएका छन्। उनले २७ हजार ४६० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*