मध्यपूर्वको तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक दुई करोडभन्दाको बढी आर्थिक घाटा

काठमाडौँ । पश्चिम एसियामा अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमण र इरानी प्रत्युत्तरपछि खाडी मुलुकतर्फ हुने उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सम्बन्धित निकायलाई दैनिक दुई करोड १० लाख रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भइरहेको छ।
अमेरिका र इजरायलले इरानका सैनिक तथा आणविक संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले आफ्नो प्रत्युत्तरस्वरूप विभिन्न सैन्य र रणनीतिक स्थललाई निशाना बनाएको थियो। यस घटनापछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत लगायत मुलुकतर्फ उडानहरू एक सातादेखि अवरुद्ध छन्, जसका कारण नेपालबाट खाडी मुलुक जाने नियमित हवाई सेवा प्रभावित भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सुरक्षासम्बन्धी संवेदनशीलता बढेसँगै पश्चिम एसियाका नौ देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। फागुन १६ गतेदेखि लागू गरिएको यस निर्णयपछि नेपालबाट खाडी मुलुकतर्फ दैनिक करिब १८ वटा उडान रोकिएका छन्।
उडान अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमले दैनिक दुई करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेका छन्। यसमा न्यारोबडी जहाजको प्रत्येक उडानले करिब १० लाख रुपैयाँ र वाइडबडी जहाजको प्रत्येक उडानले करिब १८ लाख रुपैयाँ घाटा पुर्याउने बताइएको छ। हाल १३ वटा न्यारोबडी जहाजका र पाँच वटा वाइडबडी जहाजका उडान प्रभावित छन्, जसका कारण करिब एक करोड ३० लाख र ८० लाख रुपैयाँ घाटा भइसकेको छ।
विमानस्थलले जहाज अवतरण, पार्किङ, सञ्चार सेवा, हवाई मार्ग निर्देशन तथा सुरक्षासम्बन्धी शुल्कबाट आम्दानी गर्ने गर्दछ। न्यारोबडी जहाजबाट करिब चार हजार अमेरिकी डलर र वाइडबडी जहाजबाट करिब आठ हजार अमेरिकी डलर सेवा शुल्क प्राप्त हुने व्यवस्था छ। त्यस्तै, नेपाल वायुसेवा निगमले भूमिस्थ सेवा व्यवस्थापनबाट पनि अतिरिक्त आम्दानी गर्दै आएको छ।
हालसम्मको गणनामा हवाई इन्धन बिक्री तथा यात्रु सेवा शुल्कबाट हुने आम्दानी समावेश गरिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम, कतार एयरवेजलगायत विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका जहाज नियमित उडान गर्दै आएका थिए। यद्यपि पश्चिम एसियामा जारी तनावकै बीच फ्लाई दुबई र एयर अरेबिया सीमित रूपमा उडान सञ्चालन गरिरहेका छन्। एयर अरेबियाले आइतबारदेखि थप दुई उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ।












