गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सहकारी संस्थालाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाएर आर्थिक कारोबार गर्ने गरेको गुनासो प्राप्त भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो।
कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेले गैरनेपाली नागरिकलाई सहकारी सदस्य बनाउने कार्य कानुनविपरीत रहेको बताए। उनले भने, ‘सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० अनुसार सहकारीमा केवल नेपाली नागरिक मात्र सदस्य हुन सक्छन्।’
काफ्लेका अनुसार सहकारी ऐन २०७४ को दफा ५० र काठमाडौं महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ।
उनले भने कि लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजी प्रक्रियामा नराखिनेछ। यसरी प्रक्रियामा नआएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम जोखिममा पर्न सक्ने भएकाले महानगरले पहिले प्रतिवेदन बुझाउने र त्यसपछि मात्र खारेजी प्रक्रिया अघि बढाउने नीति अपनाएको छ।
खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीमा सबैभन्दा पहिले बचतकर्ताको रकम र आर्थिक कारोबारको पुष्टि गरिनेछ।
कामपाले दुई महिनाअघि नै सूचना जारी गर्दै तोकिएको समयमा प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिइसकेको छ। हाल काठमाडौं महानगरपालिकामा करिब १,९०० सहकारी संस्थाहरू दर्ता छन्।












