युद्धको संकेत र वार्ताको चर्चा बीच अन्तर्राष्ट्रिय तेल बजारमा भारी हलचल

काठमाडौँ । विश्व बजारमा कच्चा तेलको कारोबार इतिहासमै सबैभन्दा उतार–चढावपूर्ण बनेको सोमबार तेलको मूल्यमा असाधारण हलचल देखिएको छ। दिनको सुरुवातमै तेलको मूल्य एक ब्यारेलको ११५ अमेरिकी डलरसम्म पुगेको थियो। तर केही समयमै सात शक्तिशाली देशका अर्थमन्त्रीहरूको आकस्मिक बैठक बस्ने तयारी भएको खबर सार्वजनिक भएपछि बजारको माहोल केही परिवर्तन हुन थाल्यो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आपत्कालीन भण्डारबाट करिब ३० करोड ब्यारेल तेल बजारमा छोड्ने सम्भावना रहेको भन्ने चर्चा बाहिरिएपछि मूल्यवृद्धिको गति केही कम भएको हो । यद्यपि मूल्य अझै पनि द्वन्द्व सुरु हुनुअघिको अवस्थाभन्दा निकै माथि नै कायम रहेको छ ।
यसबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दीर्घकालीन युद्धतर्फ नजाने संकेत दिने खालको अभिव्यक्ति दिएको खबर बाहिरिएपछि तेल बजारमा अचानक ठूलो गिरावट देखिएको छ । मूल्य तीव्र रूपमा घट्दै शुक्रबारको बन्द मूल्यभन्दा पनि तल झर्यो।
सोमबार एसियाली बजारमा कारोबार सुरु हुँदा तेलको मूल्य करिब ९० अमेरिकी डलरको हाराहारीमा झरेको थियो। दिनभरि भएको यस्तो तीव्र उतार–चढावले ऊर्जा बजारमा रहेको अनिश्चितता स्पष्ट देखाएको विश्लेषकहरू बताउँछन्।
तेलको मूल्य सुरुवातमा तीव्र रूपमा बढ्नु अस्वाभाविक नभएको बजार विश्लेषकहरूको भनाइ छ। खाडी क्षेत्रमा उत्पादन हुने लाखौँ ब्यारेल कच्चा तेल आपूर्तिबाट बाहिरिएपछि विश्व बजारमा आपूर्ति घटेको छ। साथै धेरै खाडी मुलुकहरूले उत्पादन वृद्धि गर्न नसकेको मात्र नभई कतिपयले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएको भन्दै अपरिहार्य परिस्थितिका कारण आपूर्ति गर्न नसकिने प्रावधान लागू भएको घोषणा गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलरमा पुगेको छ। अमेरिकामा कारोबार हुने कच्चा तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
ट्रम्पले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्दै युद्ध चाँडै समाप्त हुन सक्ने बताएका थिए। यद्यपि केही समयपछि सार्वजनिक भएको अर्को भनाइमा युद्ध एक सातामै समाप्त नहुने संकेत पनि दिइएको थियो।












