आईपीओको तयारीमा रहेको महाशक्ति सिमेन्टको वित्तीय अवस्था सुदृढ, वर्षदिनमा १ अर्ब २५ करोडको व्यापार

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लागेको महाशक्ति सिमेन्ट लिमिटेडले वर्षदिनको अवधिमा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गरेको व्यापार सन् २०२४ को तुलनामा ३३.३६ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२३ मा ९६ करोड २० लाख रुपैयाँ र चालु आर्थिक वर्षको तीन महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको तथ्याङले देखाएको छ ।
ऋण व्यवस्थापनका दृष्टिले पनि कम्पनी सन्तुलित अवस्थामा रहेको देखिन्छ । कम्पनीको समग्र ऋण अनुपात तुलनात्मक रूपमा नियन्त्रणमा रहेको छ । सन् २०२४ मा कम्पनीको समग्र ऋण अनुपात करिब ०.७४ गुणा रहेको छ भने सन् २०२५ मा यो करिब ०.७१ गुणा रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आईपीओ बिक्री गर्न कम्पनीले सेबोनमा आवेदन दिएको छ । सोहि कम्पनी छोटो समयमै उद्योगिक संरचना सुदृढ गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको देखिएको छ । निजी क्षेत्रबाट सार्वजनिक कम्पनीमा रूपान्तरण भएसँगै कम्पनीले उत्पादन क्षमता, व्यवस्थापन संरचना र बजार विस्तारमा नयाँ गति लिएको छ । सन् २०२३ जुलाई १६ मा स्थापना भएको यो कम्पनी त्यसअघि सञ्चालनमा रहेका तीन वटा सिमेन्ट उद्योगको एकीकरणबाट बनेको हो ।
यसअघि सञ्चालनमा रहेका महाशक्ति सिमेन्ट प्राइभेट लिमिटेड, गरिमा सिमेन्ट प्राइभेट लिमिटेड र एम. जयपी सिमेन्ट प्राइभेट लिमिटेडलाई सन् २०२३ जुलाई १४ मा औपचारिक रूपमा गाभेर नयाँ संरचनामा महाशक्ति सिमेन्ट लिमिटेड स्थापना गरिएको थियो । यस एकीकरणले उत्पादन क्षमता, व्यवस्थापन अनुभव तथा बजार पहुँचलाई एउटै छातामुनि ल्याउँदै कम्पनीलाई प्रतिस्पर्धी उद्योगका रूपमा स्थापित गर्ने आधार तयार पारेको देखिएको छ ।
कम्पनीको एकीकृत सिमेन्ट उत्पादन उद्योग कपिलवस्तुको शिवराज नगरपालिका–६ मा रहेको छ । महाशक्ति सिमेन्ट लिमिटेड हाल मुख्य रूपमा दुई प्रकारका सिमेन्ट उत्पादन तथा बिक्रीमा केन्द्रित छ । कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ । निर्माण क्षेत्रको तीव्र विस्तार भइरहेका कारण यी दुवै प्रकारका सिमेन्टको माग निरन्तर बढिरहेको छ ।
कम्पनीमा श्यामप्रसाद पौडेल प्रमुख शेयरधनीका रूपमा देखिएका छन् । उनीसँग करिब ९ प्रतिशत शेयर रहेको छ । त्यसपछि हरि बहादुर भण्डारी र पारस अधिकारीको करिब ८–८ प्रतिशत शेयर रहेको छ ।
महाशक्ति सिमेन्ट लिमिटेडले आफ्नो बैंकिङ सुविधाका लागि क्रेडिट रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंक सुविधा ६३ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ भने अल्पकालीन बैंक सुविधा २ अर्ब १६ करोड ५२ लाख ८० हजार रुपैयाँलाई ‘आईआरएन ए फोर’ रेटिङ दिएको छ ।












