काठमाडौंसहित प्रमुख सहरमा वायु प्रदूषण उच्च, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अपिल

२६ फाल्गुन २०८२, मंगलवार १३:०४

काठमाडौँ ।  काठमाडौं उपत्यका र देशका प्रमुख सहरमा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमनागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्ला तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रमा हानिकारक पर्टिकुलेट म्याटरको मात्रा चिन्ताजनक स्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘वायु प्रदूषणले सामान्य आँखामा दुखाइ, रातोपन र दृष्टिमा असर पुर्‍याउनेदेखि मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसम्म निम्त्याउन सक्छ। विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगी व्यक्ति बढी जोखिममा छन्।’

विशेषज्ञहरूले प्रदूषणको प्रभाव कम गर्न बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएका छन्। डा. बुढाथोकीले भने, ‘यो समयमा हानिकारक कण वायुमण्डलको तल्लो तहमा जम्मा हुन्छन्। यदि बाहिर निस्कनैपर्ने अवस्था आयो भने अनिवार्य मास्क प्रयोग गर्न, आँखालाई चस्मा लगाएर जोगाउन र छालालाई ढाक्ने कपडा तथा टोपी लगाउनुपर्छ।’

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण नियन्त्रणका लागि अरू सरोकारवाला मन्त्रालयहरूसँग निरन्तर समन्वय र छलफल गरिरहेको छ। प्रवक्ता बुढाथोकीले स्पष्ट पारे कि सवारीसाधनको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, फोहोर तथा प्लास्टिक जलाउने कार्य, वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण न्यूनीकरण सम्भव छैन।

उनले भने, ‘अहिलेकालका लागि प्रदूषणको प्रत्यक्ष असरबाट जोगिन व्यक्तिले आफ्ना स्वास्थ्यलाई सुरक्षित राख्नुपर्छ। उद्योग, कृषि, परिवहन र वातावरणसँग सम्बन्धित सबै पक्षले जिम्मेवार भएर कदम चाल्न आवश्यक छ।’

विज्ञहरूले वायु प्रदूषणको दीर्घकालीन असर रोक्न सरकारी नीतिसहित समुदायमा सचेतना फैलिनुपर्ने पनि जोड दिएका छन्। यसबीच, शहरका सडकमा धुवाँ र धुलोका कारण सवारीसाधन र पैदल यात्रु दुवै जोखिममा रहेको र मास्क तथा सुरक्षा उपकरणको प्रयोग अत्यावश्यक बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*