लज्जापद हार बेहोरेका एमाले नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख

काठमाडौँ । विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी खर्च २८ लाख ७ हजार १०० रुपैयाँ रहेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुँदा गरेको खर्चको विवरण आयोगलाई पेश गरेका हुन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार पौडेलले निर्वाचन प्रचार–प्रसार, सवारी साधन प्रयोग, छपाइ तथा विभिन्न कार्यक्रम सञ्चालन लगायतका शीर्षकमा खर्च भएको विवरण पेश गरेका हुन्।
उनीले बुझाएको विवरणअनुसार मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ खर्च गरिएको छ भने सवारी साधन भाडा तथा इन्धनमा ६ लाख ४६ हजार २४२ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी छपाइ तथा विद्युतीय माध्यममार्फत प्रचारप्रसारमा ५ लाख ३८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै चुनावी सामग्री छपाइमा ९ लाख ५० हजार रुपैयाँ खर्च भएको देखिएको छ। गोष्ठी तथा कार्यकर्ता परिचालन लगायतका गतिविधिमा समेत विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ। प्रतिनिधि परिचालन तथा कार्यालय सञ्चालनमा समेत खर्च भएको विवरणमा समेटिएको छ।
रुपन्देही क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भने पौडेल पराजित भएका थिए। उक्त निर्वाचनमा सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गरी निर्वाचित भएका थिए भने पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरेका थिए।













