नक्कली प्रमाणपत्रले प्रहरी सहायक निरीक्षकको जागिर, अवकासपछि परे अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगसहित आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुँदा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्लीबाट जारी भएको देखिने शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। तर अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठले झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेका थिए। सोही आधारमा प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भई उनले हालसम्म नेपाल सरकारबाट निवृत्तभरणसहित विभिन्न लाभ र सुविधा लिँदै आएको आरोपपत्रमा उल्लेख गरिएको छ।
उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा श्रेष्ठले पदोन्नतिका लागि पेस गरेको सन् १९९९ को अखिल भारतीय वरिष्ठ विद्यालय प्रमाणपत्र परीक्षासम्बन्धी अङ्कपत्र तथा बसाइँसराइ प्रमाणपत्र लगायतका कागजातहरू नक्कली रहेको पाइएको आयोगले जनाएको छ।
आयोगले नक्कली कागजात पेस गरी सरकारी सेवामा पदोन्नति लिई लाभ तथा सुविधा लिएको कार्य भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।












