सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौँ । सरकारले आन्तरिक स्रोत परिचालनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ‘विकास ऋणपत्र २०८७’ जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ५ वर्ष अवधिका लागि उक्त रकम उठाउन लागेको हो।
कार्यालयका अनुसार ऋणपत्रको बोलकबोल यही फागुन २६ गते हुने छ भने निष्कासन फागुन २७ गते गरिनेछ। सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
जारी हुने ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने व्यवस्था गरिएको छ। ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
बोलकबोलमा सहभागीले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रम अनुसार मिलाएर बाँडफाँट गरिनेछ। त्यसक्रममा निर्धारण भएको ब्याजदर तथा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबै बोलवालालाई एउटै एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने व्यवस्था रहेको कार्यालयले जनाएको छ।












