प्रभावित यात्रुका लागि नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई विशेष उडान

२६ फाल्गुन २०८२, मंगलवार १८:२५

काठमाडौँ ।  नेपाल एयरलाइन्सले प्रभावित यात्रुहरूको सहज यात्राका लागि काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ। मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थितिका कारण विगत केही दिनदेखि यात्रा प्रभावित भएका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो।

निगमले मंगलबार जारी गरेको सूचनाअनुसार काठमाडौँ–दुबई उडान ११ मार्चमा राति २३:१५ बजे काठमाडौँबाट प्रस्थान गर्नेछ। त्यसैगरी दुबई–काठमाडौँ उडान १२ मार्चमा स्थानीय समयअनुसार ०४:१० बजे दुबईबाट प्रस्थान गर्ने तालिका रहेको छ। उडान समय भने नियमित तालिकाअनुसार नै रहने निगमले जनाएको छ।

नेपाल एयरलाइन्सका अनुसार फेब्रुअरी २८ देखि मार्च ९, २०२६ सम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले ११ मार्चको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्नेछ। निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।

निगमले मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थिति तथा सुरक्षासम्बन्धी कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*