विनोद चौधरीको सम्पत्ति पुग्यो ३ खर्ब २ अर्ब

२७ फाल्गुन २०८२, बुधबार १०:३३

काठमाडौं । नेपालको निजी क्षेत्रका अग्रणी व्यवसायी विनोद चौधरी पुनः विश्वका धनी व्यक्तिहरूको सूचीमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूचीअनुसार चौधरी विश्वका १९८२औँ धनी व्यक्ति बनेका हुन्।

फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। नेपाली मुद्रामा यो रकम करिब ३ खर्ब २ अर्ब रुपैयाँ बराबर हुन्छ। पछिल्लो वर्षको तुलनामा उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

सन् २०२५ मा सार्वजनिक गरिएको सूचीमा चौधरी १७६३औँ स्थानमा रहेका थिए। त्यतिबेला उनको सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर हाराहारीमा रहेको उल्लेख गरिएको थियो। पछिल्लो एक वर्षको अवधिमा मात्रै उनको सम्पत्ति करिब १० करोड अमेरिकी डलरले बढेको देखिन्छ।

फोर्ब्सले सार्वजनिक गरेको विवरणअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूमध्ये भारत बाहेक अर्बपति सूचीमा पर्ने व्यक्ति चौधरी मात्र रहेका छन्। यसले नेपालबाट विश्व अर्बपति सूचीमा निरन्तर उपस्थिति जनाइरहेका एकमात्र उद्यमीका रूपमा उनको पहिचान कायम रहेको देखाउँछ।

यसअघि सन् २०१९ मा चौधरी विश्व अर्बपति सूचीको १३४९औँ स्थानमा पुगेका थिए। तर विश्वव्यापी महामारीका कारण केही वर्ष उनको सम्पत्तिमा गिरावट आएको थियो। पछिल्ला वर्षमा विभिन्न क्षेत्रमा गरिएको लगानी विस्तार, अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तार तथा उद्योग व्यवसायको पुनःउत्थानसँगै उनले आफ्नो सम्पत्ति फेरि वृद्धि गर्न सफल भएका छन्।

फोर्ब्सको पछिल्लो सूचीमा पहिलो स्थानमा अमेरिकी उद्यमी एलन मक्स रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब अमेरिकी डलर रहेको उल्लेख गरिएको छ। दोस्रो स्थानमा अमेरिकी प्रविधि उद्यमी ल्यारी पेज रहेका छन्। सूचीमा सबैभन्दा धेरै अर्बपति संयुक्त राज्य अमेरिका, चीन र भारतका रहेको पनि फोर्ब्सले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*