१६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या : न्यायको माग गर्दै ठाउँ–ठाउँमा प्रदर्शन

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएपछि देशभरै विरोध प्रदर्शन बढेको छ। आज माइतीघर मण्डलामा पनि पीडितको न्यायका लागि प्रदर्शन भएको छ। सुर्खेतमा समेत युवाहरु न्यायका लागि सडकमा आएका छन् ।
देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्या घटनाको विरोध गर्दै युवाहरू र दलित अधिकारकर्मीहरूले भेला भएर विरोध गरेका हुन्। सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनालाई अन्त्य गर्न माग गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ जस्ता नारा सहित न्यायको माग राखेका थिए। उनीहरूले पीडितको मृत आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरेका छन्।
सामाजिक सञ्जालमा पनि इनिशा विकको हत्यामा दोषीलाई कारबाही गर्न माग गर्दै आवाज उठ्न थालेको छ।
गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी इनिशा विक गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनको शरीरभरि निलडाम र रगताम्य अवस्था रहेको थियो। अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको थियो। प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।












