कारागारबाट रिहा भए दिपक मनाङे

२७ फाल्गुन २०८२, बुधबार १६:१३

काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।

चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् ।

मनाङेले पटक पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए । उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका थिए । सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए । मनाङेले २० प्रतिशत कैद छुट पाएका छन् ।

मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। तर मनाङेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*