कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ५.६ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान वित्तीय अवस्था अनुसार कर्जा प्रवाह बढेको देखिएको हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशत २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँले बढी ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ ।
माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंकहरूको ३.० प्रतिशत र वित्त कम्पनीहरूकोकर्जा प्रवाह १.८ प्रतिशतले बढेको छ । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२–८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले प्रवाह भएको छ ।












