आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो। जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावितलाई र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारेलाई निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले र वैदेशिक रोजगारेलाई छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिंदा आयोजना प्रभावितले कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्ता माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारेले कम्तीमा १० कित्ता र बढीमा २१ हजार कित्ता माग गर्न सक्नेछन्। आयोजना प्रभाविततर्फको निष्काशन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गते हुनेछ भने वैदेशिक रोजगारतर्फको निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ।
आयोजना प्रभावितले सिन्धुपाल्चोकस्थित याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कार्यालयका साथै सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा कार्यालय र सिन्धु विकास बैंककै चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।












