नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, सुरेन्द्र उप्रेदी नेतृत्वको टिमलाई शपथग्रहणको बाटो खुला

२८ फाल्गुन २०८२, बिहीबार १०:३१

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रमका लागि कानुनी अवरोध हटेको छ।

नाडाका अनुसार निर्वाचन प्रक्रियासम्बन्धी रिट अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको थियो।

तर, बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ। यससँगै नाडाको नयाँ कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको संस्थाले स्पष्ट पारेको छ।

नाडाले जारी गरेको सूचनाअनुसार नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिनेछ।

संस्थाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको र यसले नाडालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नाडाले सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ। अदालतको निर्णयसँगै नाडाको निर्वाचनबाट विजयी भएको सुरेन्द्र उप्रेदी नेतृत्वको टिमलाई अब औपचारिक रूपमा शपथग्रहण गर्ने बाटो खुला भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*