आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी

काठमाडौँ । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ। भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि सरकारले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो।
बजारमा ग्यास अभाव बढ्दै गएपछि उपभोक्ताहरू दैनिक जीवन सञ्चालनमै समस्या भोग्न थालेका छन्। ग्यास डिपोहरूमा सिलिन्डर उपलब्ध नहुँदा सर्वसाधारण खाली सिलिन्डर बोकेर डिपो–डिपो धाउन बाध्य भएका छन्।
नेपाल आयल निगमले भने देशभर पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गरेको छ। निगमका अनुसार भारतबाट नियमित रूपमा ग्यास आयात भइरहेकाले आपूर्ति पक्षमा समस्या नभएको बताइएको छ। तर बजारमा भने ग्यास डिपोहरूले कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढ्दै गएको छ।
यसैबीच, काठमाडौंको बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको वितरण केन्द्रमा ग्यास लिन आउने सर्वसाधारणको सयौँको लाइन लाग्न थालेको छ। बिहानैदेखि लाइन लागेर पनि ग्यास नपाउने अवस्था रहेको उपभोक्ताहरू बताउँछन्।
बाहिरका डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू बाध्य भएर सिलिन्डर बोकेर मुख्य वितरण केन्द्रसम्मै पुग्नुपर्ने अवस्था आएको छ। यसले उपभोक्तालाई थप सास्ती खेप्न बाध्य बनाएको छ।
कृत्रिम अभाव नियन्त्रण गर्न तथा सीमित ग्यास धेरै उपभोक्तासम्म पुर्याउने उद्देश्यले सरकारले आधा सिलिन्डर मात्रै भरेर बिक्री गर्ने विकल्प अघि सारेको हो। यस्तो व्यवस्था कार्यान्वयनमा आए केही समयका लागि भए पनि उपभोक्ताले ग्यास पाउने अवस्था सहज हुने सरकारी अधिकारीहरूको विश्वास छ।












