आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने आयल निगमको निर्णय
२८ फाल्गुन २०८२, बिहीबार १८:३१

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि घरेलु ग्यास आपूर्ति प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्।
आधा सिलिन्डर ग्यासको मूल्य पनि पुरानो पूर्ण सिलिन्डरको आधा मात्र तोकिएको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी युद्ध र आपूर्ति चुनौतीका कारण बजारमा ग्यासको माग बढेपछि निगमले यो कदम चाल्नुपरेको हो।
डा. भट्टका अनुसार यस व्यवस्थापछि ग्यासको पहुँच व्यापक हुनेछ। जहाँ पहिले १ हजार उपभोक्ताले ग्यास पाउँथे, अब २ हजार उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ। यसले घरेलु बजारमा ग्यासको आपूर्ति सामान्य बनाउने लक्ष्य राखिएको निगमले जनाएको छ।













