वायु प्रदूषणको भयावह असर : नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

२९ फाल्गुन २०८२, शुक्रबार १५:५३

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ।

उनका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुने जस्ता समस्या प्रदूषणकै कारण बढिरहेको उनले बताए।

विज्ञहरूका अनुसार वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ। प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोगको जोखिम बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमै क्यान्सरको जोखिम रहनु, मस्तिष्क विकासमा ढिलाइ हुनु तथा असामान्य व्यवहार देखिनु जस्ता समस्या देखिने गरेका छन्। साथै कुपोषणको समस्या पनि बढ्न सक्ने बताइएको छ।

यस्तै, वायु प्रदूषणले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा समेत असर पार्ने गरेको छ। कम तौलका बच्चा जन्मिनु, रक्तअल्पता देखिनु, बाँझोपनको समस्या आउनु, गर्भकालीन मधुमेह हुनु तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्ने सम्भावना रहने विज्ञहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्डभन्दा करिब आठ गुणा बढी रहेको छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार बिहीबार नेपालमा वायु गुणस्तर सूचकांक १८५ सम्म पुगेको थियो, जुन स्वास्थ्यका लागि अस्वस्थ्य मानिने स्तर हो।

डब्लुएचओका अनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। तर नेपालमा उक्त मापदण्डभन्दा निकै बढी प्रदूषण रहेको मन्त्रालयले जनाएको छ। डा. बुढाथोकीका अनुसार यस्ता सूक्ष्म कण हावामा तैरिरहने र श्वासप्रश्वास प्रक्रियामार्फत फोक्सोसम्म पुग्ने भएकाले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन्।

वायु गुणस्तर सूचकांक ० देखि ५० सम्मलाई स्वस्थ मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहने अवस्था मानिन्छ। १०१ देखि १५० सम्म पुगेमा जोखिम समूह, जस्तै ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकाका लागि हानिकारक मानिन्छ। १५१ भन्दा माथि पुगेमा भने समग्र जनस्वास्थ्यका लागि अस्वस्थ्य मानिने गरिएको छ।

विज्ञहरूका अनुसार वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सके नेपालीहरूको औसत आयु प्रत्येक वर्ष करिब ३ दशमलव ३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ। विश्वव्यापी रूपमा पनि वायु प्रदूषणका कारण वार्षिक करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक पर्ने गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*